गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

प्रदेश समन्वय परिषद्को प्रथम बैठक सम्पन्न



यस मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेश समन्वय परिषद्को प्रथम बैठक मिति २०७५।२।१४ गते सम्पन्न भएको छ। यस प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङज्यूले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तह र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।

उक्त बैठकको उद्घाटन गर्दै उहाँले प्रदेशको समुन्नतिका लागि राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी लोकमार्ग बनाउनुपर्ने र उक्त मार्गमा देखिएको  समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

सरकारले दुई वर्षभित्र प्रदेशका प्रत्येक गाउँ र बस्तीमा विद्युत् र खानेपानी धारा पुर्‍याउने लक्ष्य राखेको बताउँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि स्थलगतरुपमा उज्यालो र खानेपानी नपुगेका ठाउँको पहिचान गरी सूचना दिन स्थानीय तहसँग आग्रह गर्नुभयो ।

प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरुले आ-आफ्ना मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गर्नु भएको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव श्री धर्मराज कुईकेलले प्रस्तुतिकरण तथा कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।

उक्त कार्यक्रममा प्रदेश नं ४ का जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, महानगरपालिकाका उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको थियो। बैठकमा गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका तर्फबाट समुहगत छलफल गरी प्रस्तुतिकरण समेत गरिएको थियो।

Download: प्रदेश समन्वय परिषद्को प्रथम बैठक सम्पन्न