प्रदेश परिचय
१. भौगोलिक परिचय
नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो। नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो। यी मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भयो। भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि टुन्ड्रा) हावापानी विद्यमान रहेको छ।
(क) अवस्थिति
भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०'उत्तरी अक्षांश देखि २९°२०'उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२'पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रुपमा धौलागिरी हिमाल (८१६७ मीटर) र होचो भू-भागको रुपमा नवलपुरको त्रिवेणी सुस्ता रहेको छ।
(ख) क्षेत्रफल
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा रहेको पोखरा महानगरपालिका समेत यस प्रदेशमा रहेको छ।
(ग) सिमाना
यस प्रदेशको सिमाना पूर्वमा ३ नं. प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्चिममा प्रदेश नं. ५ का पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) र ६ नं. प्रदेशको डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा ५ नं. प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्।
२. राजनैतिक प्रशासनिक विभाजन
नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।
प्रदेशको राजनैतिक तथा प्रशासकीय विभाजन
| क्र.सं. | जिल्ला | स्थानीय तहको संख्या | निर्वाचन क्षेत्र | कैफियत | ||
| नगरपालिका | गाउँपालिका | प्रतिनिधि सभा | प्रदेश सभा | |||
| 1 | मुस्ताङ | 0 | 5 | 1 | 2 | |
| 2 | म्याग्दी | 1 | 5 | 1 | 2 | |
| 3 | बागलुङ | 4 | 6 | 2 | 4 | |
| 4 | पर्वत | 2 | 5 | 1 | 2 | |
| 5 | कास्की | 1 | 4 | 3 | 6 | |
| 6 | स्याङ्जा | 5 | 6 | 2 | 4 | |
| 7 | तनहुँ | 4 | 6 | 2 | 4 | |
| 8 | लमजुङ | 4 | 4 | 1 | 2 | |
| 9 | मनाङ | 0 | 4 | 1 | 2 | |
| 10 | गोरखा | 2 | 9 | 2 | 4 | |
| 11 | नवलपरासी (ब.सु.पू.) | 4 | 4 | 2 | 4 | |
| जम्मा | 27 | 58 | 18 | 36 | ||
३. जनसांख्यिकीय विवरण
२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २४०३०१६ रहेको छ जुन कुल जनसंख्याको ९.०६ प्रतिशत हुन आउँछ। यस मध्ये पुरुषको जनसंख्या ९४८०२९ र महिलाको जनसंख्या ११४४१२४ रहेको छ भने लैङ्गिक अनुपात करिब ८९ जना पुरुष प्रति १०० महिलामा रहेको छ यसको राष्ट्रिय अनुपात ९४.१६ रहेको छ। जनसंख्याको वार्षिक वृद्धिदर -०.३३ प्रतिशतको हाराहारीमा रहेको छ राष्ट्रिय तथ्याङ्कमा यो दर १.३५ प्रतिशत रहेको छ। यसबाट के देखिन्छ भने यस प्रदेशको जनसंख्या वृद्धि घट्दो अनुपातमा रहेको छ। प्रदेशको जनसंख्याको औसत आयु ७० वर्षरहेको छ राष्ट्रिय तहमा भने यो तथ्याङ्क ६५ वर्ष रहेको छ। कुल घरपरिवार संख्या ५,७६,५०१ रहेको छ। यस प्रदेशको कुल जनघनत्व ११० जना प्रति वर्ग किलोमिटर रहेको छ। यसमा नगरपालिकामा बसोबास गर्ने जनसंख्या १४,५२,१८६ (६०.५%) र गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ९,४३,६५२ (३९.४%) रहेको छ। त्यस्तै यस प्रदेशको कुल जनसंख्याको ५०.१ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय रहेको छ। यसबाट आधा जनसंख्या आश्रित जनसंख्याको रुपमा रहेको प्रष्ट हुन्छ।
क) भौगोलिकताको आधारमा जनसंख्याको विवरणः
भौगोलिक प्रदेशगत आधारमा गण्डकी प्रदेशको जनसंख्या हिमाली प्रदेशको जनसंख्या १९९९० (०.८%), पहाडी प्रदेशको जनसंख्या २०७२१६२ (८६.५%) र तराई प्रदेशको जनसंख्या ३१०८६४ (१२.७%) रहेको छ।
| क्षेत्र | जनसंख्या | क्षेत्रफल वर्ग (कि.मी) | जनधनत्व जना/वर्ग कि.मी |
| हिमाल | १९९९०(०.८%) | ५८१९(२६.८%) | ३ |
| पहाड | २०७२१६२(८६.२%) | १४६०४(६७.२%) | १४२ |
| तराई | ३१०८६४(१२.९%) | १३१०(६%) | २३२ |
| जम्मा | २४०३०१६ | २१७३३ | ११० |
श्रोत: तथ्याक कार्यालय, कास्की
