गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

प्रदेश परिचय


१. भौगोलिक परिचय

नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो । यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका धौलागिरी अञ्‍चलका ४ जिल्ला, गण्डकी अञ्‍चलका ६ जिल्ला र लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि टुन्ड्रा) हावापानी विद्यमान रहेको छ ।

क) अवस्थिति

भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०'उत्तरी अक्षांश देखि २९°२०'उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२'पूर्वी देशान्तरका बीच रहेको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रुपमा धौलागिरी हिमाल (८१६७ मीटर) र होचो भू-भागको रुपमा नवलपुरको त्रिवेणी सुस्ता रहेको छ ।

ख) क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ । यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ ।यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ । नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा रहेको पोखरा महानगरपालिका समेत यस प्रदेशमा रहेको छ ।

ग) सिमाना

यस प्रदेशको सिमाना पूर्वमा ३ नं. प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्‍चिममा प्रदेश नं. ५ का पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्‍चिम) र ६ नं. प्रदेशको डोल्पा जिल्ला पर्दछन् । त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा ५ नं. प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन् ।

२. राजनैतिक प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत धौलागिरी अञ्‍चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्‍चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन् । गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् ।त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ ।

३. जनसांख्यिकीय विवरण

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २४०३०१६ रहेको छ जुन कुल जनसंख्याको ९.०६ प्रतिशत हुन आउँछ ।यस मध्ये पुरुषको जनसंख्या ९४८०२९ र महिलाको जनसंख्या ११४४१२४ रहेको छ भने लैङ्गिक अनुपात करिब ८९ जना पुरुष प्रति १०० महिलामा रहेको छ यसको राष्‍ट्रिय अनुपात ९४.१६ रहेको छ । जनसंख्याको वार्षिक वृद्धिदर -०.३३ प्रतिशतको हाराहारीमा रहेको छ राष्‍ट्रिय तथ्याङ्कमा यो दर १.३५ प्रतिशत रहेको छ । यसबाट के देखिन्छ भने यस प्रदेशको जनसंख्या वृद्धि घट्दो अनुपातमा रहेको छ । प्रदेशको जनसंख्याको औसत आयु ७० वर्षरहेको छ राष्‍ट्रिय तहमा भने यो तथ्याङ्क ६५ वर्ष रहेको छ ।कुल घरपरिवार संख्या ५,७६,५०१ रहेको छ । यस प्रदेशको कुल जनघनत्व ११० जना प्रति वर्ग किलोमिटर रहेको छ । यसमा नगरपालिकामा बसोबास गर्ने जनसंख्या १४,५२,१८६ (६०.५%) र गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ९,४३,६५२ (३९.४%) रहेको छ । त्यस्तै यस प्रदेशको कुल जनसंख्याको ५०.१ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय रहेको छ । यसबाट आधा जनसंख्या आश्रित जनसंख्याको रुपमा रहेको प्रष्‍ट हुन्छ ।

क) भौगोलिकताको आधारमा जनसंख्याको वितरण

भौगोलिक प्रदेशगत आधारमा ४ नं. प्रदेशको जनसंख्या हिमाली प्रदेशको जनसंख्या १९९९० (०.८%), पहाडी प्रदेशको जनसंख्या २०७२१६२ (८६.५%) र तराई प्रदेशको जनसंख्या ३10864 (१२.७%) रहेको छ ।

क्षेत्र

जनसंख्या

क्षेत्रफल वर्ग कि.मी

जनधनत्व जना/वर्ग कि.मी

हिमाली प्रदेश

१९९९०(०.८%)

५८१९(२६.८%)

पहाडी प्रदेश

२०७२१६२(८६.२%)

१४६०४(६७.२%)

१४२

तराई प्रदेश

३१०८६४(१२.९%)

१३१०(६%)

२३२

जम्मा

२४०३०१६

२१७३३

११०

                                                                                                                                      श्रोत: तथ्याक कार्यालय कास्की