गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

सन्देश


२०८० बैशाख १५ गते मैले गण्डकी प्रदेश सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएँ । यस ऐतिहासिक अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्रीको हैसियतले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

नेपाली जनताको अथक प्रयास, संघर्ष, त्याग र बलिदानको परिणाम स्वरुप महत्वपूर्ण राजनीतिक उपलब्धिका रुपमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । संविधानले परिकल्पना गरे अनुरुप प्रदेश सरकारलाई  विकास र समुन्नतिको जनआकांक्षा पुरा गर्ने माध्यमको रुपमा स्थापना गरियो ।

प्रदेश सरकारको सफलतासँग संघीय शासन प्रणालीकै सफलता गाँसिएकाले नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई थप मजवुत बनाउनुको बिकल्प छैन ।

गण्डकी प्रदेशको समुन्नतिको लागि प्रदेश सरकारले बिगतमा गरेका काम र प्राप्त उपलब्धिको रक्षा गर्दै नागरिक सँग नजिक रहेर सहज सेवा उपलब्ध गराउन सरकारको प्राथमिकता रहनेछ ।

बिगतका दिनहरुमा उपलब्धिहरु हाँसिल भएको भएतापनि सरकारबाट भईरहेको सेवा प्रवाहबाट जनता अपेक्षाकृत सन्तुष्ट हुन सकेको अवस्था देखिँदैन । मेरो नेतृत्वको सरकारले जनअपेक्षा अनुसारको काम गर्नेतर्फ सम्पूर्ण प्रयास केन्द्रित गर्नेछ ।

स्थानीय तह, प्रदेश र संघ सरकार बिचको सहकार्यलाई केन्द्रमा राखेर नीति निर्माण, भौतिक, सामाजिक, आर्थिक लगायत समग्र विकासमा ध्यान केन्द्रित गर्नेछौँ । उपलब्ध स्रोत साधनका बिच नागरिकको टड्कारो आवश्यकता तत्काल पुरा गरी आम नागरिकको जिवनस्तर उकास्न उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रित गरिनेछ ।

नागरिकको आधारभुत आवश्यकताका अलबा स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हकका सबालमा सरकार गम्भिर रहनेछ ।

प्रदेशको भुगोल, संरचना, जनसंख्या, भेषभुषा, रहनसहन, भाषा, संस्कृती, परम्पराको जगेर्ना गर्दै समुन्नतिका लागि नयाँ/नयाँ सम्भावनाको खोजी गरिनेछ । पछाडी परेका/पारिएका वर्ग, समुदाय, जातजाति, क्षेत्र र लिङ्गलाई राज्यको मुल प्रवाहमा ल्याउन प्रदेश सरकार सदैब अग्रसर रहनेछ ।

पर्यटन, कृषि, उर्जा, उद्योग स्थापना, खेलकुद र पूर्वाधार विकासलाई गण्डकी सरकारले प्राथमिकतामा राखेर नीति निर्माण सँगै योजना कार्यान्वयन गर्नेछ । रोजगारीको नयाँ सम्भावनाहरु खोज्दै प्रदेशलाई आत्मनिर्भर बनाउन राजस्व वृद्धिका दायरा फराकिलो बनाउँदै लगिनेछ ।  

प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न र प्रादेशिक संरचनालाई थप बलियो बनाउँदै नागरिकका माझ यसको औचित्य स्थापित गर्न यहाँहरु सबैको रचनात्मक सल्लाह, सुझाबको अपेक्षा गरेको छु ।

धन्यबाद ।